बिहीबार, २२ आश्विन, २०८३

प्रधानमन्त्री शाहको निर्देशनपछि आन्तरिक हवाई भाडा घटाउन वायुसेवा कम्पनी सहमत

राष्ट्रिय सन्‍देश संबाददाता, ५० मिनेट पहिले

प्रधानमन्त्री शाहको निर्देशनपछि आन्तरिक हवाई भाडा घटाउन वायुसेवा कम्पनी सहमत

२०८३ असोज २२ काठमाडौँ । आगामी चाडपर्वका बेला वायुसेवा कम्पनीहरूले मनोमानी रूपमा टिकटको मूल्य बढाएको गुनासो बढेपछि सरकारको पहलमा हवाई भाडादर घट्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको  निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश)को सक्रियतापछि आन्तरिक वायुसेवा सञ्चालकहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न तयार भएका हुन् ।

नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री शाहले यसबारे चासो देखाएका थिए । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो । उक्त छलफलपछि स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने/गराउने विषयमा वायुसेवा कम्पनीहरू सहमत भएका क्यानले जनाएको छ ।

सहमतिअनुसार अब वायुसेवा कम्पनीहरूले सस्तो मूल्यको भाडादरसम्बन्धी विवरण आफ्ना आधिकारिक बिक्री प्लेटफर्म तथा वेबसाइटहरूमा   प्रकाशन गर्ने सहमति भएको छ । चाडपर्वमा घर फर्किने यात्रुलाई राहत दिन सरकारले यो कदम चालेको हो ।

advertisement_1676998982.gif