राष्ट्रिय सन्देश संबाददाता, ५४ मिनेट पहिले
२०८३ असोज २३ काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (शुक्रबार) बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुँदैछ ।
बिहीबार बिहान ७ बजेका लागि तय गरिएको मतदान उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनमा भएको ढिलाइ, मतपत्र छपाइ कार्य तथा अन्य व्यवस्थापकीय तयारी पूरा हुन नसक्दा सारिएको थियो । निर्वाचन समितिले पटक-पटक समय तालिका संशोधन गर्दै अन्ततः शुक्रबार बिहानका लागि नयाँ समय तोकेको हो ।
केन्द्रीय निर्वाचन समितिका अनुसार देशभरबाट आएका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिहरूले मतदान प्रक्रियामा भाग लिँदैछन् । मतदान कार्यलाई व्यवस्थित र सहज बनाउनका लागि काठमाडौंका तीन फरक स्थानमा मतदान केन्द्र निर्धारण गरिएको छ ।
जसमा बागमती प्रदेशका प्रतिनिधिहरूका लागि राष्ट्रिय सभागृह (प्रदर्शनी मार्ग), गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि प्रज्ञा प्रतिष्ठान भवन (कमलादी) तथा बाँकी प्रदेशका प्रतिनिधिहरूका लागि खुला मञ्चमा मतदानको व्यवस्था मिलाइएको छ ।
यस महाधिवेशनले विधान संशोधन गर्दै नयाँ केन्द्रीय कार्यसमितिलाई २९७ सदस्यीय बनाएको छ । आज हुने मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहितका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू निर्वाचित हुनेछन् ।
निर्वाचन समितिले मतदान कार्य सम्पन्न हुनासाथ मतपेटिका सुरक्षित रूपमा संकलन गरी आजैबाट मतगणना सुरु गर्ने तयारी गरेको छ । महाधिवेशन एक दिन लम्बिएकाले प्रतिनिधिहरूको आवास र भोजनको व्यवस्था पार्टीको आर्थिक व्यवस्थापन समितिले नै बेहोर्ने जनाएको छ ।