शुक्रबार, ६ मंसिर, २०८२

प्रेस चौतारीका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने ३ जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १५ कार्तिक, २०८२

प्रेस चौतारीका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने ३ जना पक्राउ

२०८२ कार्तिक १४, काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ जिल्लाको सदरमुकाम बेशीसहर बजारस्थित घरमा गएराति भएको ढुंगा प्रहार घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङले सिसीटिभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बेशीसहर–८ बस्ने आयुष आले मगर, दोर्दी गाउँपालिका घर भई हाल बेशीसहरमा बस्ने प्रदीप तामाङ र बेशीसहर–१० निवासी योगेश तामाङ रहेका छन् । प्रहरीले उनीहरूलाई आज साँझ पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ पर्ने सबै २० वर्ष उमेर आसपासका छन् ।

गएराति करिब १२ बजे अध्यक्ष पाण्डेको लमजुङ जिल्ला सदरमुकाम बेशीसहर बजारस्थित घरमा ढुंगा प्रहार भएको थियो । घटनामा घरका झ्यालका सिसा फुटेका छन् र पाण्डेको ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ । घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन् ।

घटनाप्रति नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालले घोर निन्दा प्रकट गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ । संगठनले लोकतान्त्रिक परिवेशमा पत्रकारका नेता र परिवारमाथि भएको यस्तो आक्रमण अभिव्यक्ति स्वतन्त्रतामाथिको धक्का भएको जनाएको छ ।

यस घटनाबारे लमजुङ प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ । उनीहरूलाई छिट्टै सार्वजनिक गरिने लमजुङका प्रहरी प्रमुख रेशम बोहोराले जानकारी दिए ।

भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजनात्मक स्टाटस लेखी घरमा आक्रमण गर्न आह्‌वान गरिनु र गएरति आक्रमण हुनुले यो षड्यन्त्रपूर्वक आयोजना गरिएको स्पष्ट प्रमाणित भएको प्रेस चौतारीले जनाएको छ ।

advertisement_1676551646.gif