शनिबार, २४ आश्विन, २०८३

महासचिव पोखरेलसँग मनमुटावको हल्लामा सत्यता छैन - ओली

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

महासचिव पोखरेलसँग मनमुटावको हल्लामा सत्यता छैन - ओली

२०८३ असोज २४ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्ध बिग्रिएको र दरार आएको भन्दै बाहिर चलेका चर्चालाई पूर्ण रूपमा निराधार र कपोलकल्पित भन्दै खारेज गरेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पार्टीको शीर्ष नेतृत्व तहमा कुनै पनि किसिमको मनमुटाव वा असमझदारी नरहेको स्पष्ट पारे ।

पछिल्ला केही दिनयता एमालेभित्र पार्टी सञ्चालन र आन्तरिक विषयहरूलाई लिएर अध्यक्ष ओली र महासचिव पोखरेलबीच दूरी बढेको, संवादसमेत टुटेको र फोनसमेत नउठाएको भन्दै राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका थिए । बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले यस्ता हल्लाहरूमा रत्तिभर सत्यता नरहेको बताए ।

अध्यक्ष ओलीलाई उद्धृत गर्दै सञ्चारकर्मीहरूले सोधेको जिज्ञासामा उनले भने, “बिल्कुलै सत्यता छैन । उनले फोनसमेत उठाउनुभएन भन्ने कुरा पनि सुनियो, तर यस्ता भ्रामक कुरालाई अनावश्यक रूपमा विवादको विषय बनाउनु उचित हुँदैन । उहाँसँग मेरो कुनै मनमुटाव छैन । फोन नउठेको वा व्यस्त भएको सानो कुरालाई मात्रै आधार बनाएर शीर्ष नेतृत्वको सम्बन्धमै समस्या आयो भन्न मिल्दैन । पार्टीभित्र राजनीतिक विचार र जिम्मेवारी फरक हुन सक्छन्, तर त्यसलाई व्यक्तिगत सम्बन्धसँग जोडेर हेर्नु उचित हुँदैन ।”

यसैबीच, एमालेभित्र केही समयदेखि पार्टी सङ्गठन सुदृढीकरण, कार्यभार बाँडफाँट र पुनर्गठनका विषयमा आन्तरिक छलफलहरू भइरहेका छन् । अध्यक्ष ओलीले पार्टी सञ्चालन, भावी कार्ययोजना तथा नीतिगत विषयहरूमा शीर्ष नेतृत्वबीच निरन्तर, सौहार्दपूर्ण र गहन समन्वय कायमै रहेको जानकारी दिए ।

उम्मेदवार चयन, तल्ला कमिटीका अधिवेशन र आगामी निर्वाचनको तयारीमा जुटिरहेको एमालेभित्र भ्रम सिर्जना गर्ने नियतले यस्ता अनावश्यक हल्ला फैलाइएको भन्दै पार्टी पंक्तिलाई यस्ता भ्रममा नपर्नसमेत नेताहरूले आग्रह गरेका छन् ।

advertisement_1676998982.gif