राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १५ श्रावण, २०८२
२०८२ साउन १४, रसुवा । चीनको तिब्बत क्षेत्रमा भारी वर्षा हुँदा त्रिशूली नदीमा ठूलो बाढी आएको छ । बाढीका कारण रसुवाको उत्तरगया आसपासका क्षेत्र, किस्पाङको त्रिशूली थ्रीबी हव लगायतमा जलसतह उच्च देखिएको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् । बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका– ५ स्थित ‘त्रिशूली–काठमाडौं प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ ।
भारी वर्षाका कारण विपद्को जोखिम हुनसक्ने भएकोले आवश्यक पूर्वतयारी र सावधानीका साथ उच्च सर्तकता अपनाउन रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले सबैमा अनुरोध गरे ।
यसैबीच नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाउन सूचनामार्फत अनुरोध गरिएको छ ।
सम्भावित विपदबाट यस जिल्लामा सञ्चालित सडक मार्गहरूमा समेत क्षति तथा अवरोध पुग्न सक्ने भएकाले यातायातका साधन सञ्चालन गर्दा र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।