सोमबार, १ असार, २०८३

संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ असार ०१, काठमाडौं । संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज सोमबार बस्दै छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको तय कार्यसूची अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटका सन्दर्भमा दुवै सदनमा महत्त्वपूर्ण छलफल र प्रक्रियाहरू अगाडि बढाउनका लागि यी बैठकहरू आह्वान गरिएका हुन् ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले जेठ १५ गते सार्वजनिक गरेको नयाँ बजेटसँग सम्बन्धित विनियोजन विधेयकमाथिको सैद्धान्तिक तथा मन्त्रालयगत छलफल सुरु हुनेछ । सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि समूहीकृत रूपमा विस्तृत छलफल हुने तय गरिएको छ ।

जसअनुसार आजको बैठकमा विशेष गरी युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि विनियोजित बजेटका शीर्षकहरूमाथि सांसदहरूले आ-आफ्नो धारणा राख्नेछन् ।

यसका साथै महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि छुट्याइएको बजेटको शीर्षकमाथि पनि आजै समूहीकृत रूपमा छलफल हुने कार्यसूची रहेको छ ।

अर्कोतर्फ दिउँसो बस्ने राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेटमाथि भइरहेको सामान्य छलफललाई निरन्तरता दिइनेछ ।

उक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफलका क्रममा विभिन्न दलका सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा र आलोचनाहरूको आधिकारिक रूपमा जवाफ दिने कार्यसूची रहेको छ ।

अर्थमन्त्रीको जवाफसँगै राष्ट्रियसभामा बजेटमाथिको सामान्य छलफलको प्रक्रिया टुंगिने र विनियोजन विधेयकका अन्य प्राविधिक पक्षमाथि छलफल अगाडि बढाउने संसद् सचिवालयले जनाएको छ ।

advertisement_1676551694.gif