राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २८ श्रावण, २०८२
२०८२ साउन २७, काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति खतिवडाले समितिको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै खतिवडाले निजामती विधेयकमा उल्लेख कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटिको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
कुलिङ अफ पिरियड छानबिन विशेष समितिले आफ्नो नाम उल्लेख नगरेपनि जिम्मेवारी भन्ने शब्द प्रयोग भएकाले राजीनामा दिएको उनले बताए । विधेयक लेखनका क्रममा कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा त्रुटि भएको देखिएको तर उक्त त्रुटि आफूबाट नभएको उनले बताउदै आएका छन् ।
नेपाली कांग्रेसका सांसद जीवन परियार संयोजक रहेको छानबिन समितिले पनि सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको थियो । कांग्रेस नेतृत्वले पनि सभापति खतिवडालाई राजीनामा गर्न आग्रह गरेको बताइएको छ । पार्टीले नै आग्रह गरिसकेपछि खतिवडा राजीनामा दिने मनस्थितिमा पुगेको कांग्रेस नेताहरूले बताएका छन् ।
कुलिङ अफ पिरियडमा दुई वर्षे प्रावधान राख्ने समितिमा सहमति भए पनि संसदमा पेस भएको विधेयकमा उक्त प्रावधान उल्लेख नभएपछि विवाद उत्पन्न भएको थियो।