शनिबार, ९ जेष्ठ, २०८३

पश्चिमी र स्थानीय वायुको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २४ बैशाख, २०८३

पश्चिमी र स्थानीय वायुको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

२०८३ बैशाख २४, काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले देशभरको मौसममा बदली आउनुका साथै विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । हाल देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराईका क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ ।

महाशाखाका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै, तराईका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।

यसैगरी आज राति पनि कोशी प्रदेशलगायत देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बादल लाग्ने देखिन्छ । रातिको समयमा कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

मधेस प्रदेश र अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा समेत हल्का वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । मौसमी प्रणालीमा आएको यो परिवर्तनले पहाडी र हिमाली भेगमा चिसो बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ ।

advertisement_1676551694.gif