राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १५ चैत्र, २०८२
२०८२ चैत्र १५, काठमाडौं । नेकपा एमालेसँग आबद्ध विभिन्न जनवर्गीय संगठनहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति विरोध जनाउँदै आइतबार पनि राजधानीमा प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
माइतीघर–बबरमहल क्षेत्र केन्द्रित रूपमा कार्यकर्ताहरू भेला भई विरोध प्रदर्शन गरिरहेका छन्। यससँगै देशका विभिन्न जिल्ला प्रशासन कार्यालयहरूमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि समानान्तर रूपमा सञ्चालन भइरहेको छ ।
यसअघि शनिबारदेखि सुरु भएको विरोध कार्यक्रम आइतबार थप विस्तार भएको हो । राजधानीमा मात्रै नभई अन्य जिल्लाहरूमा पनि प्रशासन कार्यालय अगाडि प्रदर्शन भइरहेको जानकारी प्राप्त भएको छ ।
भदौ २३ र २४ गते भएको ‘जेन जेड’ आन्दोलन र त्यससँग सम्बन्धित दमन घटनालाई लिएर पछिल्लो राजनीतिक गतिविधि बढेको देखिन्छ । उक्त अवधिमा ओली प्रधानमन्त्री तथा लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए ।
सोही घटनासँग सम्बन्धित अनुसन्धानका आधारमा ओली र लेखक पक्राउ परेपछि एमालेले देशव्यापी विरोध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।