शनिबार, ९ जेष्ठ, २०८३

पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेद्वारा चरणबद्ध देशव्यापी आन्दोलनको घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १७ चैत्र, २०८२

पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेद्वारा चरणबद्ध देशव्यापी आन्दोलनको घोषणा

२०८२ चैत्र १७, काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले देशव्यापी प्रदर्शन आयोजना गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

वडा, पालिका, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय भएको महासचिव पोखरेलले बताए । उनका अनुसार चैत २४ गते सबै जिल्ला कमिटीले वृहत कार्यकर्ता भेला आयोजना गर्नेछन् । त्यसपछि वैशाख १२ गते राजधानी काठमाडौँमा विरोध प्रदर्शन एवं सभा आयोजना हुनेछ ।

यस्ता छन् थप आन्दोलनका कार्यक्रम

१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत् भेला गर्ने ।
२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने ।
३. वैशाख ३ गते वडा तहमा भेला गर्ने ।
४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने ।
५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने ।
६. सरकारद्वारा विद्यार्थी तथा पेसागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने । यसका साथै, भोलि (चैत १८) बिहान ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने ।
७. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिइयो ।
८. संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई दिइयो । यसका साथै, भोलि दिउँसो ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने ।
९. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

advertisement_1676553851.gif