शनिबार, ९ जेष्ठ, २०८३

नेकपाका नेता चिनबहादुर गुरूङसहित ६५० युवाहरू एमाले प्रवेश, विष्णु पौडेलले गरे स्वागत

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १८ फाल्गुन, २०८२

नेकपाका नेता चिनबहादुर गुरूङसहित ६५० युवाहरू एमाले प्रवेश, विष्णु पौडेलले गरे स्वागत

२०८२ फागुन १८, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभिन्न वामपन्थी पृष्ठभूमिका नेता-कार्यकर्ता तथा युवाहरूको ठूलो संख्या सामूहिक एमालेमा प्रवेश गरेका छन् ।

संयोजक भोजप्रसाद श्रेष्ठको संयोजकत्व र सहसंयोजक राजु गुरूङको समन्वनमा आयोजित कार्यक्रममा ६५० जना युवासहित विभिन्न तहका नेताहरू एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टी सदस्यता प्रदान गरेका थिए । उपाध्यक्ष पौडेलले देशविरोधी र अस्थिरता फैलाउने शक्तिहरू सक्रिय भइरहेको सन्दर्भमा वामपन्थी मूलधारलाई अझ सशक्त बनाउनु आवश्यक रहेको बताए । उनले राष्ट्रको स्वाधिनता, स्थिरता र विकासका लागि एमाले नै विश्वासिलो शक्ति भएको दाबी गरे । “वाम आन्दोलनलाई टुक्रयाउने र राष्ट्रलाई कमजोर पार्ने प्रयास भइरहेको छ । यस्तो बेला मूलधार सुदृढ बनाउनु समयको माग हो,” उनले भने । उनले यसरी पार्टीमा समाहित हुनेलाई उचित जिम्मेवारी दिने जनाए ।

एमालेमा समाहित हुनेहरूले विगतका राजनीतिक विद्रोह र विभाजनले अपेक्षित परिणाम नदिएको स्वीकार गर्दै अब संगठित वामपन्थी शक्तिको निर्माणमार्फत मुलुकको रक्षा र विकासमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले हिजोका असन्तुष्टि र आन्दोलनले दीर्घकालीन उपलब्धि दिन नसकेको निष्कर्षसहित एमालेको मूलधारमा फर्किएको बताएका छन् । पार्टी प्रवेश गर्नेहरूमा चिनबहादुर गुरूङ (पूर्व नेकपा प्रदेश सदस्य), बुटवलका सचिव लोकराज शर्मा, चिरन्जीवि अधिकारी, इन्द्र राई, इश्वर गुरूङ, बुटवल-१ का अध्यक्ष नरेन्द्र बस्नेतका छोरा सजित बस्नेतलगायत रहेका छन् ।

वडा नम्बर १ का अध्यक्षका छोरा सजित बस्नेतसहित ठूलो संख्यामा युवा एमालेमा समाहित भएका हुन् । कार्यक्रममा बोल्ने वक्ताहरूले राष्ट्रियता, सुशासन र समृद्धिको एजेण्डालाई केन्द्रमा राखेर संगठन विस्तार अभियानलाई तीव्रता दिने बताएका थिए । नवप्रवेशी युवाहरूले स्थानीय तहदेखि प्रदेश र संघीय राजनीतिसम्म एमालेको नेतृत्व सुदृढ बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेता चिनबहादुर गुरूङले वामपन्थी शक्ति बलियो बनाउन एमालेमा समाहित भएको जनाए । एमालेले पछिल्लो समय देशव्यापी रूपमा पार्टी एकता तथा प्रवेश अभियानलाई तीव्र बनाएको जनाएको छ । बुटवलमा भएको यो सामूहिक प्रवेशलाई संगठन विस्तार र वामपन्थी ध्रुवीकरणका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।

advertisement_1680627706.gif