राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १४ कार्तिक, २०८२
२०८२ कार्तिक १३, काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज भएको दोस्रो खेलमा नेपाल युएइसँग पराजित भएको छ । घरेलु टोलीसँग नेपाल ५ विकेटले पराजित भएको हो ।
नेपालले जितका लागि दिएको २३४ रनको लक्ष्य युएइले ४३.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । युएइका लागि आर्यंश शर्माले सर्वाधिक ९८ रन बनाए। उनले ९८ बलमा १० चौका र ३ छक्का प्रहार गरे ।
यस्तै आलिशान शराफुले ४५ तथा मुहम्मद वासिमले २६ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दीपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।
यसअघि आईसीसी एकेडमी दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले १३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक १०९ रनको योगदान दिए । आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ र करण केसीले १३ रन बनाए ।
युएईका लागि जाहिद अलीले चार विकेट लिए भने जुनैद सिद्धिकीले तीन, मोहम्मद रोहिद र हैदर अलीले समान एक÷एक विकेट लिए ।