शनिबार, ९ जेष्ठ, २०८३

आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया पर्व भब्य रुपमा मनाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ७ बैशाख, २०८३

आज वैशाख शुक्ल तृतीया अर्थात  अक्षय तृतीया पर्व भब्य रुपमा  मनाइँदै

२०८३ बैशाख ७ , काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज देशभर सातु र सर्वत दान एवम् सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आजको दिन गरिएको दान, होम, जप र तपको फल कहिल्यै नाश नहुने अर्थात् 'अक्षय' रहने विश्वासका साथ यो पर्व मनाउने गरिन्छ।

आज सबेरै उठी घर लिपपोत गर्ने, स्नान गर्ने र भगवान् विष्णुको विशेष पूजा-आराधना गर्ने परम्परा छ । दियो, कलश र गणेशको पूजा गरी तामाको थालीमा अष्टदल लेखेर विष्णुको षोडशोपचार विधिले पूजा गरिन्छ।

वैदिक सनातनी परम्पराअनुसार आजको दिन शुद्ध जल भरिएको घडामा दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी र मिश्री मिसाएर सर्वत बनाई जौको सातुसँगै दान गर्ने गरिन्छ । वैशाखको प्रचण्ड गर्मीमा सातु र सर्वत अमृत समान हुने भएकाले यसलाई स्वास्थ्य र धार्मिक दुवै दृष्टिकोणले महत्त्वपूर्ण मानिएको हो।

आजको दिन गरिने घडा दानलाई 'धर्मघटादि दान' पनि भनिन्छ । असहाय, विपन्न र वृद्धवृद्धाहरूलाई छाता, लौरो, कपडाका जुत्ता तथा क्षमताअनुसार गाई, जमिन र सुन दान गर्ने समेत चलन छ ।
अक्षय तृतीयासँग विभिन्न पौराणिक प्रसङ्गहरू जोडिएका छन।सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी पुत्री पार्वतीको विवाह भएको विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई 'अबूझ मुहूर्त' मानिदै विवाहका लागि लग्न वा साइत हेर्नु नपर्ने मान्यता छ।

शास्त्रीय वचनअनुसार त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको मानिन्छ । शिवालयमा भीड: पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालय र विष्णु मन्दिरहरूमा भक्तजनको ठुलो घुइँचो लागेको छ।गर्मी बढेसँगै शरीरलाई ऊर्जा र शीतलता प्रदान गर्ने सातु-सर्वतको सेवनले मानिसको स्वास्थ्य रक्षामा समेत सहयोग पुग्ने देखिन्छ।

advertisement_1676551694.gif