बुधबार, २७ जेष्ठ, २०८३

भारत भ्रमणले नेपाल-भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

भारत भ्रमणले नेपाल-भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

२०८३ जेष्ठ २७, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी गराउँदै उनले उक्त भ्रमणले नेपालको सन्तुलित र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त रूपमा अभिव्यक्त गर्ने अवसर प्रदान गरेको बताए ।

उनका अनुसार भ्रमणका क्रममा व्यापार तथा लगानी विस्तार, ऊर्जा सहकार्य सुदृढीकरण, पर्यटन प्रवद्र्धन, कनेक्टिभिटी विस्तार तथा जनस्तरको सम्बन्ध अझ मजबुत बनाउने विषयमा सार्थक छलफल भएको थियो । साथै आपूर्ति श्रृङ्खला सुरक्षा तथा ऊर्जा साझेदारीजस्ता समसामयिक अन्तर्राष्ट्रिय मुद्दामा पनि धारणा आदानप्रदान गरिएको उनले जानकारी दिए ।

उनले भने,‘नेपालको सन्तुलित र बहुआयामिक परराष्ट्र नीतिलाई थप शसक्त ढंगले अभिव्यक्ति गर्ने अवसर यस भ्रमणले प्रदान गरेको छ । व्यापार तथा लगानी विस्तार गर्ने ,उर्जा सहकार्य सुदृढ गर्ने,पर्यटन प्रवद्र्धन गर्ने तथा कनेक्टिभिटी र जनस्तरको सम्बन्ध अझ शसक्त बनाउने बिषयहरुमा ठोस आधार तयार पारेको छ । आपूर्ति श्रृङ्खला सुरक्षा तथा उर्जा साझेदारी जस्ता समसामयिक अन्तराष्ट्रिय मुद्दाहरुमा समेत धारणा आदानप्रदान गरिएको छ ।’

परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट र छलफलले नेपाल र भारतबीचको कूटनीतिक तथा आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले आगामी दिनमा दुवै देशका साझा हितका क्षेत्रमा परिणाममुखी सहकार्य अघि बढाउन भ्रमणले बलियो आधार तयार गरेको आफूले महसुस गरेको बताए ।

advertisement_1680627706.gif