राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ८ आश्विन, २०८३
२०८३ असोज ०८ काठमाडौँ I डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाज दुर्घटना भएको छ ।
नेपालगञ्जबाट १३ जना यात्रु लिएर गएको जहाज आज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडितर्फको दायाँ पांग्रा खुस्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार पांग्रामा सामान्य समस्या देखिए पनि जहाजमा सवार सबै यात्रु सकुशल छन्। जहाज अहिले धावनमार्गमै रहेको र प्राविधिक टोलीले जाँच गरिरहेको उहाँले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीका अनुसार जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना यात्रु थिए । यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेको उनले बताउए ।
घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।