शनिबार, ९ जेष्ठ, २०८३

सरकारले नवप्रवर्तन मन्त्रालय गठन गरेपछि महावीर गदगद, ‘श्राप’ फिर्ता लिएको घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३१ बैशाख, २०८३

सरकारले नवप्रवर्तन मन्त्रालय गठन गरेपछि महावीर गदगद, ‘श्राप’ फिर्ता लिएको घोषणा

२०८३ बैशाख ३१, काठमाडौं । पूर्वमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुन बालेन्द्र शाह नेतृत्वको सरकारसँग निकै खुशी बनेका छन् । सरकारले मन्त्रालयहरुको पुनर्संरचना गर्दा उनले चाहेको जस्तो नवप्रवर्तन मन्त्रालय जन्माइदिएपछि पुन हर्षित भएका हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै पुनले आफूले लामो समयदेखि गरेको माग पूरा भएको भन्दै आभार प्रकट गरेका छन् । उनले सरकारको दिर्घायुको कामना समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘मैले लामो समयदेखि गरेको माग पुरा भयो । दुई दिन अगाडी मैले संसदमा राखेको मागको भिडियो त देख्नु नै भयो होला । त्योभन्दा तीन हप्ता अगाडि मैले प्रधानमन्त्रीज्यूलाई बुझाएको लिखित माग पनि हेर्नु होला । अब सो विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई दक्षताका साथ कसरी चलाउने भन्ने आइडिया भएका जान्ने सुन्ने देशभक्त बैज्ञानिकहरु र अनुसन्धानकर्ताहरु छलफल गर्न आउनुहोस् भन्ने अनुरोध गर्दछु । नेपाल सरकारलाई धेरै धेरै धन्यवाद तथा दिर्घायुको कामना गर्दछु ।’

आफूले रिसको झोंकमा नेताहरुलाई दिएको श्राप पनि फिर्ता लिएको घोषणा पुनले गरेका छन् ।

पुनले दिएको श्रापयस्तो थियोः
‘लौ जा, मेरो यो श्राप लागोस् ! नेपाली नेताहरूको दिमागमा विज्ञानप्रविधि, अनुसन्धान र नवप्रवर्तन भन्ने कुराले कहिल्यै वास नगरोस् र सरकारको नीति तथा कार्यक्रममा ती शब्दहरू प्रयोग नहोस् । मेरो श्राप लागेर उनीहरूलाई जनताले चिनुन् र भावी चुनावहरूमा त्यस्ता नेताहरूलाई भोट नदिउन् । कालान्तरमा विज्ञानप्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई हेला गर्ने नेताहरूलाई हरिकंगाल बनाएर यमराजले नर्कमा हालुन् । सोझासाझा र निमुखा नेपालीहरूलाई भगवानले रक्षा गरुन् ।’

advertisement_1676551646.gif