शनिबार, ९ जेष्ठ, २०८३

संविधानको स्पिरिटमा मात्र न्यायपालिका चल्छ, सरकारको स्पिरिटमा होइन: कामु प्रधानन्यायाधीश मल्ल

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २६ बैशाख, २०८३

संविधानको स्पिरिटमा मात्र न्यायपालिका चल्छ, सरकारको स्पिरिटमा होइन: कामु प्रधानन्यायाधीश मल्ल

२०८३ बैशाख २६, काठमाडौं ।कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका सरकारको 'स्पिरिट' (भावना) मा नभई संविधानको 'स्पिरिट' मा चल्ने स्पष्ट पारेकी छिन्। कानुन दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधिको शासनमा औचित्यताका नाममा विधिमाथि छेड्खानी गर्न नहुने बताइन्।

सभामुखले कुनै प्रसङ्गमा राखेको जिज्ञासाको जवाफ दिँदै मल्लले भनिन्, "न्यायपालिका संविधानको स्पिरिटमा चल्न सक्छ। यदि सरकारले न्यायपालिकालाई आवश्यक स्रोत र साधनले सम्पन्न बनाउँछ भने यो सरकारको 'स्पिड' (गति) मा चल्न सक्छ, तर सरकारको 'स्पिरिट' मा होइन।

कामु प्रधानन्यायाधीश मल्लले न्यायाधीशहरूलाई कुनै पनि प्रकारको डर वा दबाबमा नपरी न्याय सम्पादन गर्न निर्देशन दिइन्। न्यायपालिकालाई प्रभावित पार्न खोजिने राजनीतिक अस्त्रहरूप्रति संकेत गर्दै उनले भनिन्, "डर र प्रभावबाट न्याय सम्भव छैन, चाहे त्यो महाभियोगको त्रास होस् वा दुई–तिहाइ सरकारको दबाब। डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आह्वान गर्दछु।"

विधिको शासन र संवैधानिक नैतिकताको महत्त्वबारे चर्चा गर्दै उनले संविधानभन्दा माथि कोही पनि नरहेको स्मरण गराइन्। "औचित्यताको नाममा विधिमा छेड्खानी गर्ने कार्य स्वेच्छाचारी शासकका लागि स्वभाविक होला, तर विधिको शासनमा विश्वास गर्नेका लागि यो कदापि स्वीकार्य हुन सक्दैन," मल्लले भनिन्।

संवैधानिक प्रणाली, प्रजातान्त्रिक व्यवस्था र न्यायपूर्ण समाजको परिकल्पना आफैँ सुरक्षित नहुने भन्दै उनले यसको कार्यान्वयनका लागि सबै पक्षले उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिइन्।

advertisement_1680627706.gif