शनिबार, ९ जेष्ठ, २०८३

राष्ट्रपतिद्वारा संघीय संसदको दुवै सदनको बैठक आह्वान

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २२ बैशाख, २०८३

राष्ट्रपतिद्वारा संघीय संसदको दुवै सदनको बैठक आह्वान

२०८३ बैशाख २२, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गरेका छन् ।

उनले सोमबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन, सिहंदरबारमा बैठक बस्ने गरी दुवै सदनका अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले एक विज्ञप्तिमार्फत जानकारी दिए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति यही वैशाख २२ गतेको सिफारिसमा सदनको अधिवेशन आह्वान गरेका हुन् ।

सरकारले आजै संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसअघि पनि सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरेका थिए । तर, आह्वान भएको भोलिपल्टै सरकारले रणनीतिक रूपमा उक्त अधिवेशन स्थगित गर्न सिफारिस गरेको थियो ।

संसद् नचलेको सोही अन्तरालमा सरकारले संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेशसहित विभिन्न ८ वटा अध्यादेशहरू जारी गर्ने प्रक्रिया अघि बढाएको थियो ।

विशेषगरी, राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट पुनः जस्ताको तस्तै पठाउने निर्णय गरेको थियो । मंगलबार दिउँसो राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गर्नासाथ सरकारले संसद् अधिवेशनको मिति तय गरेको हो ।

advertisement_1680627680.gif