राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २४ बैशाख, २०८३
२०८३ बैशाख २४, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ । परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहले अपराह्न ५ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका छन् ।
बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुनमन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेसँगै यो बैठक बस्न लागेको हो । सरकारले अघिल्लो साता पठाएको अध्यादेशलाई राष्ट्रपतिले सुरुमा पुनर्विचारका लागि फिर्ता पठाएको भए तापनि सरकारले कुनै संशोधन नगरी पुनः पठाएपछि सोमबार राष्ट्रपतिले यसलाई प्रमाणीकरण गरेका थिए ।
नयाँ अध्यादेश जारी भएसँगै छ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपूरक संख्या चार जना मात्र भए पुग्ने व्यवस्था गरिएको छ । यस नयाँ प्रावधानले गर्दा परिषद्का तीन जना सदस्यको बहुमतका आधारमा पनि प्रधानमन्त्रीले निर्णय गराउन सक्ने कानुनी बाटो खुलेको छ ।
आजको बैठक मुख्य गरी रिक्त हुन लागेको वा रिक्त रहेको प्रधानन्यायाधीश पदमा उपयुक्त पात्रको नाम सिफारिस गर्ने विषयमा केन्द्रित रहने बुझिएको छ।