राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २३ बैशाख, २०८३
०८३ बैशाख २३, काठमाडौं।प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्राप्त जानाकारी अनुसार बिहीबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको हो।गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि शाहले पहिलो पटक संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।
त्यसअघि सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। जसअनुसार अध्यक्ष र पाँच जना उपस्थित भएको बैठकमा अध्यक्ष र कम्तीमा ३ जनाको मत परिषद्को निर्णय मानिनेछ । त्यस्तै अध्यक्ष र चार जना सदस्य मात्रै बैठकमा उपस्थित भएमा अध्यक्ष र कम्तीमा दुई जना सदस्य गरी कम्तीमा तीन जनाको निर्णय परिषद्को निर्णय मानिनेछ ।
परिषद्को बैठकमा तीन-तीन जनामा मत विभाजन भएमा प्रधानमन्त्रीले लिने पक्षको निर्णयलाइ बहुमत मानिने व्यवस्था गरिएको छ।बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने लगायतका विषयमा निर्णय हुने बताइएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सेवानिवृत्त भएपछि सर्वोच्च अदालत नेतृत्वविहीन छ।वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले हाल का.मु. प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी छन्।त्यस्तै, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा पनि पदाधिकारी रिक्त रहेकाले बैठकबाट नयाँ नियुक्ति गरिने बताइएको छ।