राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २८ श्रावण, २०८२
२०८२ साउन २७, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री बानियाँले एक सातापछि आज विश्वासको मत लिएका हुन्।
१ सय १० सदस्यीय प्रदेश सभामा बानियाँको पक्षमा ६३ मत परेको हो । एमाले–कांग्रेस गठबन्धनबाट साउन २० गते मुख्यमन्त्री बनेका बानियाँलाई कांग्रेसभित्रको असन्तुष्ट समूहका कारण विश्वासको मत लिने तालिका पछि सारिएको थियो ।
बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका थिए ।
प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ सदस्य छन् । यसबाहेक माओवादीका २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी)का ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सदस्य छन्।
मतदानमा समाजवादीका ४ र नेमकिपाका ३ सदस्य तटस्थ बसे भने समाजवादीकै ३ जना अनुपस्थित भएका थिए ।