राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २८ भाद्र, २०८३
२०८३ भदौ २८ काठमाडौं । नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो समितिमा रहेका नेताहरूलाई पुनः केन्द्रीय समितिमा फर्किने बाटो खुला गरेको छ ।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि गठित नयाँ समितिमा पर्न नसकेका सबै नेताहरूलाई समेट्दै केन्द्रीय समितिमा राख्ने निर्णय गरेको हो ।
बैठकको निर्णयबारे जानकारी दिँदै कांग्रेसका एक पदाधिकारीले भने, ‘अघिल्लो समितिमा रहेका सबैलाई केन्द्रीय समितिमा आउन औपचारिक आह्वान गरिन्छ । उहाँहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिकै रूपमा क्रियाशील रहनुहुनेछ ।’
ती पदाधिकारीका अनुसार केन्द्रीय समितिमा फर्कन चाहने नेताहरूलाई स्वागत गरिनेछ भने अनिच्छुकहरूका लागि जबरजस्ती नगरिने नीति पार्टीले लिएको छ ।
पार्टीले आगामी १५औँ महाधिवेशनको कार्यतालिका पनि तय गरेको छ । जसअनुसार असोज १६ देखि १९ गतेसम्म महाधिवेशन आयोजना गरिनेछ। त्यसअघि असोज ३ र ४ गते वडा तहको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।
यसैगरी, कांग्रेस संस्थापन पक्षले गत पुस मसान्तसम्म नवीकरण भइसकेका सबै क्रियाशील सदस्यहरूलाई मान्यता दिने निर्णय गरेको छ । यस निर्णयसँगै लामो समयदेखि कायम रहेको सदस्यता नवीकरण सम्बन्धी अन्योल र विवाद समाधान भएको छ ।