बुधबार, २१ आश्विन, २०८३

कांग्रेसको १५औं महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १८ आश्विन, २०८३

कांग्रेसको १५औं महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा

२०८३ असोज १८ काठमाडौँ I नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको ऐतिहासिक खुलामञ्चमा भव्य रूपमा सुरु हुँदै छ । आगामी असोज २२ गतेसम्म पाँच दिनसम्म सञ्चालन हुने यस महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चलाई आकर्षक ढङ्गले सजाएर तयारी अन्तिम चरणमा पुर्‍याइएको छ ।

महाधिवेशनको औपचारिक उद्घाटन आज दिउँसो २ बजे हुने कार्यक्रम तय गरिएको छ । महाधिवेशनमा सहभागी हुनका लागि देशका विभिन्न जिल्लाका साथै विदेशस्थित जनसम्पर्क समितिहरूबाट अधिकांश महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आइपुगिसकेका छन् भने केही आउने क्रम जारी छ ।

काठमाडौं आइपुगेका प्रतिनिधिहरूका लागि राजधानीका विभिन्न होटेलहरूमा बस्ने उचित व्यवस्था मिलाइएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । कांग्रेसका अनुसार यसपटकको महाधिवेशनमा देशभरिबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन् ।

कार्यातालिकाअनुसार आजको उद्घाटन समारोहपश्चात् असोज १९ र २० गते महाधिवेशनको बन्दसत्र सञ्चालन गरिनेछ भने असोज २१ र २२ गते नयाँ केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

महाधिवेशनबाट कांग्रेसले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै भावी राजनीतिक दिशा तय गर्नेछ । बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम छ भने उपसभापति, महामन्त्रीहरू र कोषाध्यक्षले समेत आ-आफ्ना क्षेत्रका प्रतिवेदनहरू प्रस्तुत गर्नेछन् ।

समारोहलाई भव्य बनाउन कांग्रेसले मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ । उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलगायतका शीर्ष नेताहरू सहभागी हुने बताइएको छ ।

यसैगरी कांग्रेसले भारत, चीन, अमेरिकालगायतका छिमेकी तथा मित्रराष्ट्रहरूबाट समेत विदेशी पाहुनाहरूलाई निमन्त्रणा पठाएको छ । सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन काठमाडौं आइसकेकी छन् भने अन्य देशका राजनीतिक दलहरूका तर्फबाट समेत प्रतिनिधिहरू र शुभकामना सन्देश प्राप्त भएको कांग्रेसले जनाएको छ ।

advertisement_1676551694.gif