बुधबार, २१ आश्विन, २०८३

कांग्रेसको १५औं महाधिवेशन: आज मनोनयन पत्र दर्ता हुँदै, यस्तो छ पूर्ण निर्वाचन तालिका

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २० आश्विन, २०८३

कांग्रेसको १५औं महाधिवेशन: आज मनोनयन पत्र दर्ता हुँदै, यस्तो छ पूर्ण निर्वाचन तालिका

२०८३ असोज २० काठमाडौँ । काठमाडौंको खुलामञ्चमा गत आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत तेस्रो दिन आज (मंगलबार) नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया विधिवत् रूपमा अघि बढ्दैछ ।

सोमबारदेखि सुरु भएको बन्दसत्रका बीच केन्द्रीय निर्वाचन समितिले तोकेको कार्यतालिका अनुसार आज दिनभर उम्मेदवारी दर्तादेखि नामावली प्रकाशनसम्मका कार्यक्रमहरू सञ्चालन हुनेछन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न पदका लागि उम्मेदवारीको दरखास्त तथा मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ । मनोनयन दर्ताको समय समाप्त भएपछि समितिले आजै दिउँसो ४:३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

पहिलो नामावली प्रकाशन भएसँगै उम्मेदवारविरुद्ध दाबी विरोधका लागि दिउँसो ४:३० बजेदेखि ५:३० बजेसम्मको समय दिइएको छ । दाबी विरोधका लागि प्राप्त दरखास्तहरूउपर निर्वाचन समितिले आजै साँझ ५:३० बजेदेखि ६:३० बजेसम्म जाँचबुझ गर्नेछ ।

जाँचबुझ सम्पन्न भएपछि आजै बेलुका ७ बजे उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन गरिने कार्यतालिका छ । निर्वाचन समितिका अनुसार दोस्रो नामावली प्रकाशन भएपछि भोलि असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।

सोही दिन बिहान १० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी दिनभर प्रचारप्रसारका लागि समय उपलब्ध गराइनेछ । आगामी असोज २२ गते बिहान ७:३० बजेदेखि साँझ ५ बजेसम्म नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।

यसपटकको महाधिवेशनमा खुलामञ्चमै उद्घाटन र बन्दसत्र दुवै सञ्चालनका लागि हिमाल, पहाड र तराई-मधेस नाम दिइएका तीन ठूला प्रविधिमैत्री संरचना निर्माण गरिएको छ ।

कांग्रेसको इतिहासमै पहिलोपटक देशभरका वडा, क्षेत्र तथा प्रवासबाट निर्वाचित भई ७,७०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका छन् । असोज २२ गते हुने मतदानका लागि राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवन गरी तीन ठाउँमा प्रबन्ध मिलाइएको छ ।

advertisement_1680627706.gif