शुक्रबार, ६ मंसिर, २०८२

कांग्रेस केन्द्रीय समिति बैठकः महाधिवेशनका बारेमा सदस्यहरुका फरक-फरक मत

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १४ कार्तिक, २०८२

कांग्रेस केन्द्रीय समिति बैठकः महाधिवेशनका बारेमा सदस्यहरुका फरक-फरक मत

२०८२ कार्तिक १३, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको महाधिवेशनका बारेमा सदस्यहरुले फरक-फरक मत राखेका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा केही सदस्यहरुले निर्वाचन अघि नै विशेष महाधिवेशनमा जानुपर्ने र केही सदस्यहरुले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने धारणा राखेका हुन् ।

केही सदस्यहरुले भने निर्वाचन अघि विशेष नभइ नियमित महाधिवेशन गर्न सकिने धारणा राखेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने पार्टीमा बलियो मत रहेको उनले बताए। सरकारबाट सुरक्षाको सुनिश्चितता भयो भने निर्वाचनमा जानुपर्ने र पार्टीले त्यसको तयारी गर्नुपर्ने सुझाव आएको प्रवक्ता महतले बताए ।

उनले भने, ‘पार्टीमा जुन महाधिवेशनको कुरा उठेको छ यसमा अधिकांश साथीहरुले नियमित महाधिवेशनमा जानुपर्ने र त्यसको लागि राष्ट्रिय निर्वाचनलाई अहिले प्राथमिकता दिनुपर्छ भन्ने कुरा गर्नुभएको छ । केही साथीहरुले चुनाव अगावै अधिवेशन गर्ने कुरा पनि गर्नुभएको छ। यीनै कुराहरू भएका छन् ।’

उनका अनुसार केन्द्रीय सदस्यहरूले अगामी २१ फागुनमा तोकिएको निर्वाचनका लागि सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

गाउँमा शान्ति सुव्यवस्था कायम हुन नसकेको अवस्थामा निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगले निर्वाचन हुनेमा आंशका रहेको उनको भनाइ छ । यद्यपी सरकारले निर्वाचनका लागि उचित वातावरण बनाए चुनावका लागि सरकारलाई सघाउने धारणा समेत सदस्यहरूले राखेको प्रवक्ता महतले जानकारी दिए ।

सवै बिषयमा आएका सुझावहरुका आधारमा निष्कर्ष निकालेर छिटै बैठक सम्पन्न गरिने उनले जानकारी दिए। बिहीबार बैठकमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी लगाएत बागमति र लुम्विनीका प्रदेश समापतिले धारणा राखेका थिए । बैठक शुक्रबार पनि जारी रहने प्रवक्ता महतले बताए ।

advertisement_1676553851.gif