राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ५ बैशाख, २०८२
५ बैशाख २०८२, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
“स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ।” जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ ।
शनिबार भएकोको घटनामा स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर गरेको थियो भने उक्त घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फका १५ जना बढी घाइते भएका थिए । दर्जनौं पसलहरूमा तोडफोड भएको थियो ।