शुक्रबार, ६ मंसिर, २०८२

विपद्को एक वर्ष : ८ हजार बढी घटनामा ७४५ जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३० चैत्र, २०८१

विपद्को एक वर्ष : ८ हजार बढी घटनामा ७४५ जनाको मृत्यु

३१ चैत्र २०८१, काठमाडौं । एक वर्षमा विपद्जन्य घटनामा परी ७ सय ४५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा ८ हजार ८६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७ सय ४५ जनाको मृत्यु भएको हो ।

ती घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७ सय दुई जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार एक वर्षमा विपदबाट १८ हजार ९९१ घरपरिवार प्रभावित हुन पुगेका छन् । कुल ३ अर्ब १३ करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

कुन घटनामा कति मानवीय क्षति ?
सबैभन्दा बढी पहिरोका कारण ३ सय ५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण आठ, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, डढेलोबाट १०, हुरीबतासका कारण सात, डुङ्गा पल्टेर एक र अन्य विविध कारणबाट सात जनाको मृत्यु भएको छ । पहिरोबाट ४८, बाढीबाट १८ र हिउँ पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् ।

 

सबैभन्दा बढी आगलागीका घटना
विपद्जन्य घटनाका सङ्ख्या अध्ययन गर्दा सबैभन्दा बढी आगलागीका घटना यस वर्ष भएका छन् । २०८१ वैशाख १ देखि चैत २९ सम्मको तथ्याङ्कानुसार आगलागीका मात्र ४ हजार १ सय ४५ वटा घटना भएका छन् । त्यसपछि डढेलोका १ हजार १ सय ९५ वटा र पहिरोका १ हजार ५ घटना भएको छ ।

त्यस्तै बाढी ४ सय १८, भारी वर्षाका ५ सय ६८, चट्याङका ४ सय १८, जनावर आक्रमणका ४ सय ७७, लेक लागेका १ सय ११ वटा घटना भएका छन् । हवाई दुर्घटनाका दुई, सर्पदंशका ८४, हावाहुरीका ३ सय ४९, डुङ्गा पल्टेका एक, हिउँ पहिरोका छ, भूकम्पका ७४, असिनापानी एक र अन्य सातवटा विपद्जन्य घटना भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

advertisement_1676553851.gif