शुक्रबार, ६ मंसिर, २०८२

तीन महिनाको विपद्ः ९३ जनाको मृत्यु, २२ बेपत्ता

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २ श्रावण, २०८२

तीन महिनाको विपद्ः ९३ जनाको मृत्यु, २२ बेपत्ता

 १ साउन २०८२, काठमाडौँ । गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको तीन महिनामा ती विपद्जन्य घटनामा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् ।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार ती घटनामा परेर आजसम्म चार सय ४५ जना घाइते भएका छन्। उनले ती घटनामा परेर चार हजार १३६ परिवार प्रभावित भएका जानकारी दिए ।

प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विसं २०८२ को पछिल्लो तीन महिनाको विवरणअनुसार बाढीका मात्रै एक सय ३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् ।

केही दिनअघि गत असार २४ गते रसुवा भोटेकोशीमा आएको बाढीले सबैभन्दा बढी मानवीय क्षति गराएको थियो । माथिल्लो क्षेत्रमा भएको हिमताल विस्फोटबाट उक्त घटना भएको थियो। पहिरोका एक सय ७५ घटनामा छ जनाको मृत्यु भएको छ ।

चट्याङबाट २६, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२ र लेक लागेर ११ जनाको मृत्यु भएको प्रवक्ता सुनारले जानकारी दिए। अन्य हावाहुरी, सर्पदंश, भारी वर्षाबाट पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ ।

बाढीबाट मात्रै एक हजार २४६ तथा आगलागीबाट एक हजार ४८ परिवार प्रभावित भएका छन् । पहिरो, चट्याङ, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलो, सर्पदंशलगायत घटनाबाट सयौँ परिवार प्रभावित भएका जनाइएको छ ।

advertisement_1680627680.gif