राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २२ असार, २०८२
२२ असार २०८२, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न बालेन उनको निवास भंगालमा पुगेका थिए ।
बिहीबार साँझ भएको भेटमा नेकपा (एमाले) नेता शेरधन राई र काठमाडौं–९ बाट प्रतिनिधिसभा सांसद कृष्णगोपाल श्रेष्ठ पनि सहभागी थिए ।
भण्डारी राष्ट्रपति रहँदा 'राष्ट्रपति चुरे-तराई संरक्षण कार्यक्रम'अन्तर्गत चुरे क्षेत्रमा वन्यजन्तुको अन्डरपाससम्बन्धी एक योजनामा बालेन शाह पनि कार्यरत रहेको र पुरानै चिनजान अनुसार भेटवार्तालाई निरन्तरता दिइएको बताइएको छ ।
‘असार १९ गते साँझ पूर्वराष्ट्रपतिज्यूको निवासमा उहाँहरूमध्ये भेटवार्ता भएको हो,’ मेयरको सचिवालय स्रोतले भन्यो, ‘भेट पुरानो सहकार्य र आपसी सम्मानकै निरन्तरता हो ।’
पूर्वराष्ट्रपति भण्डारीले केही समयअघि नेकपा (एमाले) को साधारण सदस्यता नवीकरण गरेकी छन् । उनले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सेवा–सुविधा पनि राजीनामा दिँदै फिर्ता गरेकी छन् ।