शुक्रबार, ६ मंसिर, २०८२

काठमाडौंमा थप तीन क्षेत्रमा निषेधाज्ञा जारी, यी ठाउँमा प्रदर्शन गर्न निषेध

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १९ जेष्ठ, २०८२

काठमाडौंमा थप तीन क्षेत्रमा निषेधाज्ञा जारी, यी ठाउँमा प्रदर्शन गर्न निषेध

१८ जेठ २०८२, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाको शान्तिसुरक्षा तथा सार्वजनिक सेवालाई ध्यानमा राखेर तोकिएको ठाउँमा बाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न नपाउने गरी आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र, बल्खु क्षेत्र र चाबहिलको सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको काठमाडौं प्रशासनले जनाएको छ ।

‘सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न जाने अवस्था देखिएकाले जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम मिति २०८२/०२/१९ गतेदेखि लागू हुने गरी देहायका स्थानमा बाहेक बढीमा २ (दुई) महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

advertisement_1676551694.gif