राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ३ असार, २०८२
३ असार २०८२, रौतहट । रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ८४ वर्षीय श्रीनारायण सिंह न्यायको खोजीका लागि काठमाडौं पुगेका छन् ।
राजपुर बमकाण्डमा नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलम सहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले सफाइ दिएपछि न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै न्याय परिषदमा निवेदन दर्ता समेत गराएका छन् ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले सफाइ दिएपछि असन्तुष्ट बनेका सिंहले मंगलवार न्याय परिषद्मामा निवेदन दर्ता गराएका हुन् ।
न्याय परिषदमा दर्ता गराएको निवेदनमा न्यायाधीशद्वयले बदनीयतपूर्वक प्रतिवादीहरूलाई सफाइ दिएको आरोप लगाइएको छ। न्यायाधीशद्वयलाई निलम्बन गरी छानबिन गर्न र न्याय परिषद् ऐन तथा संविधान बमोजिम कारबाही गर्न उनले माग गरेका छन्।
रौतहट जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा ०८१ वैशाख ३ गते आलमसहितलाई जन्म कैदको फैसला सुनाएको थियो । ०६४ चैत्र २८ गते भएको पहिलो संविधान सभा निर्बाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इँटाभटामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब आलमसहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेको थियो ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले आलमसहित उनका भाइ मोहम्मद महताद आलम, शेख सराज र बद्री सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।