राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ३ आश्विन, २०८२
२०८२ असोज ३, काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने नहुने भएको छ ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।