शुक्रबार, ६ मंसिर, २०८२

राष्ट्रनिर्माता श्री ५ पृथ्वीको कानुनी राज्यको अवधारणाबाट आज पनि प्रेरणादायी

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २७ पुष, २०८०

राष्ट्रनिर्माता श्री ५ पृथ्वीको कानुनी राज्यको अवधारणाबाट आज पनि प्रेरणादायी

नेपालगन्ज। ३०२ औँ पृथ्वी जयन्ति तथा एकता दिवसको अवसरमा शनिवार नेपालगन्जमा परिसम्वाद कार्यक्रमको आयोजना गरि राष्ट्र निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ति मनाएको छ। 

टुक्राटुक्रा राज्यमा विभाजित नेपाललाई एकीकरण गरेर नेपाल राष्ट्र निर्माण गर्ने राष्ट्र निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको समझनामा स्मृति प्रतिष्ठानले ३०२ औँ पृथ्वी जयन्ति तथा एकता दिवसको अवसरमा शनिवार नेपालगन्जमा परिसंंबाद कार्यक्रमको आयोजना गरि मनाएको हो।

उक्त परिसम्वाद कार्यक्रममा वक्ताहरुले राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको जीवनी र योगदानको बारेमा चर्चा गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री सर्वदेव ओझाले राष्ट्रको एकीकरण हुनु र एउटा सिङ्गो राष्ट्र स्थापना हुनु सबैभन्दा महत्वपूर्ण कुरा हो भन्दै अन्य कुराहरु त त्यसपछि आउँछन् भन्नुभयो ।कार्यक्रममा प्राज्ञ सभा सदस्य महानन्द ढकालले पृथ्वीनारायणलाई बिर्सिनु र अपमान गर्नु कृतघ्नता हुने धारणा राख्नुभयो ।

मुख्य वक्ता सर्वदा साहित्य सङ्गमका अध्यक्ष वरिष्ठ गजलकार खगेन्द्र गिरि ‘कोपिला’ले भन्नुभयो– पृथ्वी नारायण शाहको समयको त्यो कालखण्डका उपज हुन् । उनी हुँदैन थिए भने त्यो भूगोल त हुन्थ्यो होला, तर नेपालीको यो साझा चिनारी हुने थिएन । पृथ्वीनारायणको अर्थ नीति, सैन्य नीति, राजनीति र विदेश नीति आजको स्थितिमा पनि प्रेरणादायक र त्यत्तिकै सान्दर्भिक छन् ।  

सो अवसरमा महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा. गोपाल प्रसाद शर्मा अधिकारीले भन्नुभयो– पृथ्वीनारायण शाहको जन्म, उदय र नेपाल एकीकरणको धारणा नेपालको अस्तित्वसित जोडिएको छ ।
यसैगरि अधिवक्ता लोक बहादुर शाहले पृथ्वी नारायण शाहको कानुनी राज्यको अवधारणाबाट आज पनि प्रेरणा लिने प्रशस्त ठाउँ भएको धारणा राख्नु भएको थियो ।
प्रतिष्ठानकी उपाध्यक्ष शिक्षाविद् किरण आचार्यको सभापतित्वमा भएको कार्यक्रममा नेपालको प्राचीन चिनारी थियो, तर वर्तमान आधुनिक चिनारीको श्रीगणेश पृथ्वीनारायण शाहबाटै भएको हो भन्नुभयो ।

सो कार्यक्रममा नेपालगन्जका पूर्व नगर प्रमुख वरिष्ठ अधिवक्ता विजय कुमार गुप्ता,  प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. जनार्दन आचार्य, साहित्यकारहरु गणेश जिसी लगायतले पृथ्वीनारायण शाहको योगदान बारे आ–आफ्ना धारणा राख्नु भएको थियो ।

कविगोष्ठीको समेत आयोजना गरिएको सो कार्यक्रममा राष्ट्रनिर्माता पृथ्वीनारायण प्रति समर्पित कविता पाठ गर्नेहरुमा गणेश जीसी, कोपिला अधिकारी, लक्ष्मी बस्याल, भीम प्रज्वल, बालकृष्ण शर्मा, इन्दिरा गौतम, दीपेन्द्र पन्थी, जयकेश सिंह, शान्ति अधिकारी, कोपिला सङ्ग्रौला अधिकारी, बालकृष्ण शर्मा उपाध्याय, भीम बहादुर शाही लगायत थिए ।

कवि भीम प्रज्वलले सिद्धान्त शीर्षकको कविताबाट अहिलेको राजनीति माथि प्रहार गरेका थिए भने कवि बालकृष्ण शर्माले पृथ्वी महिमा शीर्षकको कविता सुनाएर पृथ्वीनारायण शाहको कृतित्वको काव्यिक चर्चा गर्नु भएको थियो ।कार्यक्रमको प्रारम्भमा सहभागीलाई स्वागत मन्तव्य अधिवक्ता नरहरिनाथ योगीले गर्नु भएको थियो भने सञ्चालन प्रतिष्ठानका सचिव दीपेन्द्र पन्थीले गर्नु भएको थियो ।

advertisement_1680627706.gif