राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २३ भाद्र, २०८२
२०८२ भदौ २३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।
सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले ‘जेन-जी’ पुस्ताका युवाहरूको आन्दोलनका सन्दर्भमा विशेष प्रस्तावसहित पारित गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
उनले भने, ‘सामाजिक सञ्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारको अभिव्यक्ति स्वतन्त्रता विरोधी गलत निर्णयको निन्दा र विरोध गर्दछौ। नव युवाहरू (जेन जेड)को आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनका जायज मागहरूको समर्थन गर्दछौँ ।’
सामाजिक सञ्जाल बन्द गरिएपछि युवाहरूमा उत्पन्न असन्तुष्टि र आक्रोश भ्रष्टाचार र कुशासन विरोधी आन्दोलनको रूपमा अघि बढेको कुरा जायज रहेको बताए।
उनले भने, ‘सरकार हिंसात्मक दमनमा उत्रिएको छ। कुशासन र बेरोजगारीका लागि सडकमा आवाज उठ्नु स्वाभाविक हो र त्यसको सम्मान गर्दै अब राज्य जनतालाई सुशासन र रोजगारी दिने दायित्वबाट भाग्न पाउँदैन। आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ लगेर आन्दोलनको गरिमा र यसले प्राप्त गरेको जनसमर्थन दुरुपयोग हुन नदिन आन्दोलनकारी युवाहरूलाई अपिल गर्दछौँ ।’
आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जायज मागहरूको समर्थन गरेको उक्त पार्टीले सामाजिक सन्जाल बन्द गरिएपछि युवाहरूमा उत्पन्न असन्तुष्टि र आक्रोश भ्रष्टाचार र कुशासनविरोधी आन्दोलनको रूपमा अघि बढेको कुरा जायज भएको बताएको छ ।