राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ५ कार्तिक, २०८२
कात्तिक ४, २०८२,पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–४, सौरेनी झडेवामा धारिलो हतियार प्रहार हुँदा एक बृद्ध महिलाको मृत्यु भएको छ भने एक व्यक्ति घाइते भएका छन् । स्थानीय एक व्यक्तिले धारिलो हतियारले प्रहार गर्दा ७६ वर्षीया फुलमाया जिसीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
त्यस्तै उनका श्रीमान् ८२ वर्षीय प्रेमबहादुर जिसी घाइते भएका छन् । घाइतेलाई लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको तथा त्यहा बाट थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल पठाइएको बताइएको छ ।
प्राप्त जानकारी अनुसार सोमबार राति करिब साढे १२ बजे कुटपिटको सूचना पाएपछि प्रहरी चौकी माथागढिबाट प्रहरी सहायक निरीक्षक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेको थियो ।
प्रहरी पुगेका बेला फुलमायाको मृत्यु भइसकेको र प्रेमबहादुर गम्भीर घाइते अवस्थामा फेला परेका थिए । अनुसन्धान गर्दा झडेवाका ३७ बर्षका मीनबहादुर विश्वकर्माले आक्रमण गरेको खुल्न आएको बताइएको छ । राति नै खोजतलासका क्रममा उनी आफ्नै घरमा लुकेर बसेको अवस्थामा फेला परेका थिए ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ । मीनबहादुर बृद्ध दम्पति संग पैसा माग्न आएको र नदिएपछि झगडा भई उनले धारिलो हतियार प्रहार गरेको बताइएको छ ।