राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १९ कार्तिक, २०८३
२०८३ कार्तिक १८ काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा आज प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट सुशोभित भएपछि संक्षिप्त सम्बोधन गर्दै उहाँले संविधान र कानुनप्रति अविचलित रहिरहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
गृहमन्त्री सुदन गुरुङबाट दज्र्यानी चिह्न प्राप्त गरेपछि उनले विशेषगरी प्रहरी जवान र हवल्दार तहका कर्मचारीका गुनासा सुन्ने संयन्त्र तत्काल गृह मन्त्रालयमै प्राथमिकताका साथ सञ्चालन गरिने बताए ।
प्रहरी सङ्गठनको मर्यादा र निष्पक्षतामा आफूले कुनै सम्झौता नगर्ने उद्घोष गर्दै महानिरीक्षक केसीले जनतासँगको सम्बन्धलाई प्रहरी सङ्गठनको महत्त्वपूर्ण अंग भएकोले पुँजीमा रूपमा औँल्याए । “आजैदेखि हामी सबै मिलेर कर्तव्यबाट सेवा प्रवाहसम्मको यात्रा सुरु गरौँ, जहाँ नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरुन्, प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्”, उनले भने ।
उनले आधारभूत तहलगायत सम्पूर्ण प्रहरी कर्मचारीको गुनासो सुन्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र सुरु गर्ने घोषणा समेत गरेका छन् । प्रहरी महानिरीक्षक केसीले सीमित स्रोत साधन, भवनको अभाव, लामो कार्यघण्टा, सरुवा बढुवामा निष्पक्षता र मानसिक स्वास्थ्यलगायत पक्षमा आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
आवश्यक स्रोत साधन, कानुनी स्पष्टता, कार्यगत स्वायत्तताका लागि सरकारसँग आग्रह गर्दै प्रहरी महानिरीक्षक केसीले प्रहरी सङ्गठनलाई दलीय प्रभावबाट मुक्त राख्नका लागि राजनीतिक दलबाट सहयोगको अपेक्षा गरे ।
केसीले निवर्तमान प्रहरी महानिरीक्षकसहित पूर्वप्रहरी नेतृत्वले संगठनमा स्थापित गरेका मूल्य, मान्यता र अभ्यासलाई आफ्नो कार्ययात्राको आधार बनाउने बताए । साथै, राष्ट्र र जनताको सुरक्षाका क्रममा बलिदान दिने अमर प्रहरी शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता प्रहरी कर्मचारीको खोजीका लागि कामना गरे ।
उनले अहिले अपराधको स्वरूप र समाजको अपेक्षा तीव्र गतिमा परिवर्तन भइरहेको उल्लेख गर्दै साइबर ठगी, अनलाइन वित्तीय अपराध, क्रिप्टो कारोबार, डीपफेक, भ्रामक सूचना, संगठित तथा अन्तरदेशीय अपराध, लागुऔषध, मानव बेचबिखन र सम्पत्ति शुद्धीकरणलाई प्रमुख चुनौतीका रूपमा औँल्याए ।
खुला सीमानाको दुरुपयोग तथा वैदेशिक रोजगारसँग जोडिएका अपराध नियन्त्रण पनि प्रहरीका लागि चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।
गत भदौको जेनजी आन्दोलनलगायत पछिल्ला घटनाक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध तथा बल प्रयोगको मर्यादाबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था सिर्जना गरेको उनले बताए । प्रहरीप्रतिको जनविश्वास पुनर्निर्माण गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको उनको भनाइ थियो ।