राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १५ बैशाख, २०८१
काठमाडौं । इलाम-२ र बझाङ-१(१) मा हुन लागेको उपनिर्वाचनमा आज मतदान हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।
इलाम–२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तोकिएका छन् । सो क्षेत्रमा कुल एक लाख १५ हजार ८८९ मतदाता छन् । इलाम–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुन १९ जनाले उम्मेदवारी दिएका छन् । १२ जना उम्मेदवार राजनीतिक दलबाट र सात जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, नेकपा (एमाले) बाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलनकुमार योङहाङ लिम्बूले उम्मेदवारी दिएका छन् ।
नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादुर राई उम्मेदवार रहेका छन्। सात जना स्वतन्त्र उम्मेदवार छन् ।
बझाङ १(१) मा ७४ वटा मतदान स्थलमा ९३ मतदान केन्द्र छन् । सो क्षेत्रको चुनावमा सात वटा पालिका पूरै र थलारा गाउँपालिकाको वडा नम्बर ९ का मतदाता सहभागी हुने छन् । सात वटा पालिकामा जयपृथ्वी नगरपालिका, मष्टा, तलकोट, साइपाल, सुर्मा, छविसपाथिभरा, खप्तडछान्ना गाउँपालिका रहेका छन् ।
सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता छन् । मतदानलाई शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली खटिएको छ । सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।