राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १५ बैशाख, २०८१
काठमाडौं । बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा शनिबार भएको उपनिर्वाचनमा करिब आधा मतदाताले मतदान गरेका छन् ।
बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनका अनुसार जिल्लामा ६१ हजार सात सय ४८ मतदाता रहेको उपचुनावमा ५० प्रतिशतको हाराहारीमा मतदान भएको छ ।
७४ वटा मतदानस्थल र ९३ केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बझाङमा मतदान केन्द्रहरू दुर्गम स्थानमा पनि रहेकाले मतपेटिका ढुवानीमा समय लाग्ने भएकोले भोलि बिहानसम्म मतपेटिका सदरमुकाम ल्याइसकेपछि सर्वदलीय बैठकबाट निर्णय गरेर गणना शुरु गर्ने मुख्य निर्वाचन अधिकारी लामिछानेले बताउनुभयो ।
प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिष्पर्धामा छन् ।