राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ९ श्रावण, २०८१
काठमाडौं, साउन ९ । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् । आयोगलाई ४५ दिन म्याद दिइएको छ ।
आज काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो ।