राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १२ असार, २०८१
काठमाडौँ असार ११ । सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट खारेज भएको हो ।
मंगलबार अन्तिम बहस सकिएपछि न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले उक्त रिट नै खारेज गरिदिएको हो ।
रिट खारेज गरेसँगै हिक्मत कार्की नेतृत्वको सरकारले निरन्तरता पाएको छ । केदार कार्कीले २०८१ जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, प्रदेश सभामुख अम्बरबहादुर विष्ट, एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कार्की, कोशी प्रदेशसभा सदस्यहरू रेवतीरमण भण्डारी, गणेशप्रसाद उप्रेती र किशोरचन्द्र दुलाललगायतलाई पनि विपक्षी बनाएका थिए।
वैशाख २६ गते प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आव्हान गरेपछि त्यसमाथि प्रश्न उठाउँदै केदार कार्की सर्वोच्च अदालत गएका थिए।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिइसकेको कारण अब हटाउन नपाइने जिकिर गरेका थिए। एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई प्रदेश प्रमुख खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।