राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २८ श्रावण, २०८१
तस्विर: राष्ट्रिय सन्देश
काठमाडौं, साउन २८ । सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहसँग बयान लिएको छ।
ललितपुर पुल्चोकको सुमेरु बचत तथा ऋण सहकारी संस्थाको स्वामित्व लिन लागेको बारेमा समितिले सोमबार सिंहलाई सिंहदरबार बोलाएर बयान लिएको हो।
समिति सभापति सूर्य थापाका अनुसार सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्ने बताएका छन् ।
‘उनले आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराउनुभयो,’ थापाले भने।
राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्रका ज्वाईं हुन् । बयानका क्रममा उनले आफूले पहिलो पटक यस्तो बयान दिएको पनि बताएका थिए ।