राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ४ श्रावण, २०८१
काठमाडौँ, साउन ४ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित विशेष संसदीय समितिले प्रदेश र स्थानीय तहका नियामक निकायसँग छलफल गरेको छ । शुक्रबार बसेको बैठकमा समितिले विभिन्न प्रदेश र स्थानीय तहका सहकारीका नियामक निकायका पदाधिकारीसँग छलफल गरेको हो ।
शुक्रवार बसेको बैठक सूर्यदर्शन, सानो पाइला, सुप्रिम, इमेज, साहारा, समानता लगायतका सहकारी संस्थाहरुमा केन्द्रीत भएको समितिका सभापति सूर्य थापाले बताए । उनले बैठकमा सूर्यदर्शन सहकारीका सम्बन्धमा पोखरा महानगरपालिकाले गठन गरेको छानविन समितिको प्रतिवेदनका बारेमा जानकारी लिएको बताए ।
त्यस्तै सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले हालसम्म गोरखा मिडिया नेटवर्कमा एउटा ४ करोड ८८ लाख हजार २७१ रुपैयाँ ७६ पैसा र २० लाख र ५० लाखमध्ये गोरखा मिडियामा सीधै २० लाख र जिबी ग्रुप अफ कम्पनीमा ५० लाख रकम गएको पाइएको जानकरी दिएका छन्।
सञ्चारकर्मीहरुसँग उनले सबैगरी करिब साढे ५ करोड रुपैयाँ सूर्यदर्शन सहकारीबाट गएको देखिएको बताए। जिबी राई, भूपेन्द्र राई, थानेश्वर बुढा, शिवबहादुर गुरुङ, कुमार रम्तेलको नाममा र उनीहरुमार्फत हेमन्त अधिकारी र स्वर्णलक्ष्मी सहकारीको नाममा रकम गएको बताए।
छलफलमा बागमती प्रदेशका सहकारी विभाग रजिष्ट्रार राजेन्द्रप्रसाद पोखरेल र कानून अधिकृत मनोजकुमार गुप्ता, वीरगञ्ज महानगरपालिकाबाट सत्यराज घिमिरे र सुनिल कर्ण, लुम्बिनी प्रदेशबाट दर्ता अधिकृत भिमराज पोखरेल, पोखरा महानगरपालिकाबाट दीपक आचार्य र रजिष्ट्रार अनिल कार्की तथा काठमाडौँ महानगरपालिकाबाट विभागीय प्रमुख बलराम त्रिपाठी र विज्ञ टीका कार्कीको उपस्थिति रहेको सभापति सूर्य थापाले जानकारी दिए।