शुक्रबार, ६ मंसिर, २०८२

सिमलताल दुर्घटनाः अध्ययन कार्यदलले सरकारलाई बुझायो प्रतिवेदन

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २२ श्रावण, २०८१

सिमलताल दुर्घटनाः अध्ययन कार्यदलले सरकारलाई बुझायो प्रतिवेदन

काठमाडौं, साउन २२ । चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यदलले गृहमन्त्री लेखकलाई कार्यदलका संयोजक समेत रहेका गृह मन्त्रालयका सहसचिव छवि रिजालले मन्त्री लेखक समक्ष प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्याधिक क्रस स्लोप भएको देखिएको जनाइएको छ। सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षाको समयमा पहिरो गइ सडकमा क्रस गर्दै गएका दुईवटा बसलाई पहिरोले धकेलेर त्रिशुली नदीमा खसालेको देखिएको कार्यदल संयोजक रिजालले बताए।

त्यस्तै दुर्घटनास्थल भन्दा माथिल्लो भेगमा ग्रामिण सडक निर्माण गर्दा समग्र वातावरणीय पक्षमा ध्यान नदिएको र त्यसको प्रभाव तल्लो क्षेत्रमा परेको समेत देखिएको उनले जानकारी दिए।

अध्ययनका क्रममा दुर्घटनामा बाँच्न सफल भएका व्यक्ति, प्रत्यक्षदर्शी, सडक विभाग, चितवन प्रशासन कार्यालयलगायतसँग छलफल गरिएको रिजालले उल्लेख गरे। उनले सडक दुर्घटनामा ज्यान गएकाको परिवारलाइ उचित क्षतिपूर्ति र विमा वापतको रकम दिन ढिलाई गर्न नहुनेमा जोड दिए।

अध्ययन प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले अझै पनि दुर्घटनामा परेका अधिकांश फेला नपर्नु दुखद भएको भन्दै आगामी दिनमा दुर्घटना न्यूनिकरण गर्न सरकारले आवश्यक नीति बनाउने बताए।

गृहमन्त्री लेखकले असार ३१ गते दुर्घटना अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका थिए । कार्यदलले साउन २ गतेदेखि आफ्नो काम थालेको थियो । दुर्घटनाको कारण, मृतक परिवार पाउनुपर्ने क्षतिपूर्ति र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन के गर्न सकिन्छ भन्ने विषय समेटेर कार्यदलले प्रतिवेदन तयार पारेको छ ।

गृहमन्त्री लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वका तीन सुरक्षा निकायबाट तीन जना, भौतिक मन्त्रालयबाट एक जना गरी ५ जनाको कार्यदल गठन गरेका थिए ।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए।

advertisement_1676998982.gif