राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ११ श्रावण, २०८१
काठमाडौँ, साउन ११ । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।
अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए ।
बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । तर सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगङ्गा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए ।
पहिरोले घर पुरिएको सूचना पाउनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली घटनास्थलतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिए ।
स्थानीय सहयोगमा प्रहरीको उद्दारटोलीले उद्धार गरिएको प्रहरीले जनाएको छ ।