राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २ भाद्र, २०८१
तस्विर: राष्ट्रिय सन्देश
काठमाडौं, भदौ २ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आइतबार भारत भ्रमणमा जाँदैछिन् । भारतका विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनले यो औपचारिक भ्रमण गर्न लागेकी हुन् ।
मंत्री राणाको पहिलो विदेश भ्रमणका क्रममा उनले भारतका उच्च अधिकारीसँग भेट्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री डा. राणाले भारतका विदेशमन्त्री डा जयशंकरसँग भेटवार्ता गरी नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन र सहयोग अभिवृद्धिमा पारस्परिक हितका विषयमा छलफल गर्नेछिन् ।
साथै यस भ्रमणले नेपाल र भारतबीचको उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साको रूपमा सदियौंदेखिको पुरानो, गहिरो र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनको भ्रमणको क्रममा अन्य उच्चस्तरीय भेटवार्ता समेत हुने बताइएको छ । उनी भ्रमण पुरा गरि विहिबार स्वदेश फर्किने तालिका रहेको छ ।
नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा पनि यस प्रकारका उच्चस्तरीय भ्रमणहरूले दुई मुलुकबीचको पुरानो सम्बन्धलाई थप सुदृढ तुल्याउने उल्लेख गरिएको छ।