राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १३ असार, २०८१
काठमाडौं, असार १२ । देशका विभिन्न ठाउँमा वर्षा र बाढी पहिरोका कारण २ जनाको मृत्यु भएको छ । मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
त्यस्तै पहिरोमा परी पोखरा–२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी हरि सुनारकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।
यसैगरी लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका–३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।
आज बिहान पौने ५ बजे पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए ।