शुक्रबार, ६ मंसिर, २०८२

पार्टी कार्यालयमा स्व. नेम्वाङलाई श्रद्धाञ्जली अर्पण ; नेम्वाङको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ गरिने

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २६ भाद्र, २०८०

पार्टी कार्यालयमा स्व. नेम्वाङलाई श्रद्धाञ्जली अर्पण ; नेम्वाङको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ गरिने

काठमाडौँ ।  नेकपा (एमाले) का उपाध्यक्ष, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्त्येष्टी पर्सि भदौ २८ गते बिहीबार गरिने भएको छ । संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभाका पूर्व सभामुख समेत रहनुभएका नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ । 

गएराती असामयिक निधन भएका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पणका लागि आज दिनभर उहाँको पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा राखिएको थियो । श्रद्धाञ्जली अर्पणका लागि भोलि दिउँसो १ बजेसम्म राखिने र १ बजेपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा श्रद्धाञ्जलीका लागि राखिने एमालेले जनाएको छ ।

भोलि पार्टी कार्यालयबाट शव निवासमा लगेर बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने निर्णय गरेको थियो । नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पार्टी कार्यालयमा स्व. नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यसैगरी, नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका नेताहरू, नेपाली सेनाका प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका प्रमुख र पदाधिकारीहरू, विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू तथा उच्चपदस्थ अधिकारीहरू सहित ठूलो सङ्ख्यामा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणले स्व. नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 

 

 

advertisement_1676553851.gif