शुक्रबार, ६ मंसिर, २०८२

पोखरा र गौतमबुद्ध विमानस्थल निर्माणको छानबिन गर्न २ संसदीय उपसमिति गठन

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १५ असार, २०८१

पोखरा र गौतमबुद्ध विमानस्थल निर्माणको छानबिन गर्न २ संसदीय उपसमिति गठन

काठमाडौं, असार १४ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको छानबिन गर्न दुई छुट्टाछुट्टै संसदीय उपसमिति गठन भएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङदेनको संयोजकत्वमा १२ सदस्यीय र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमबन्धी छानबिन गर्न एमाले सचिव तथा सांसद योगेश भट्टराईको संयोजकत्वमा ८ सदस्यीय उपसमिति गठन भएको हो । 

उपसमितिमा सांसदहरु अच्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, बिक्रम पाण्डे, मञ्जु खाँण, मनिष झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी रहेका छन्। विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितता भएको आशंका सहित समग्र पक्षको छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न उपसमिति गठन गरिएको हो।

अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भनेर कसरी माग प्रस्ताव सुरु भयो भन्नेदेखि गुरुयोजना, लागत/ठेक्का, निर्माण हुँदै अहिलेसम्मको समग्र अवस्थालाई अध्ययन/छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न उपसमितिलाई कार्यादेश दिइएको लेखा समिति सभापति सभापति ऋषिकेश पोखरेलले बताए। यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी छानविन गर्न सांसद तथा राप्रपा अध्यक्ष राजेन्द्र राजेन्द्रप्रसाद लिङदेनको संयोजकत्वमा १२ सदस्यीय संसदीय उपसमिति गठन भएको छ ।

उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दिपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य छन्। दुबै उपसमितिलाई अधिकतम एक महिना भित्र प्रतिवेदन पेश गर्न समय दिइएको समिति सभापति ऋषिकेश पोखरेलले बताए।

विमानस्थल निर्माण गर्न पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २५ अर्ब ३४ करोड र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ३५ अर्ब ६६ करोडको लगानीमा दुई विमान स्‍थल बनेको थियो । 

advertisement_1676551694.gif