राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ९ भाद्र, २०८१
तस्विर: गुगलबाट
काठमाडौं, भदौ ९ । नारायणघाट मुग्लिन सडकखण्डको घुमाउनेमा भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका-२९ घुमाउनेमा दुर्घटना भएको हो ।
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुमध्ये ४ जना महिला रहेका छन् । प्रहरीका अनुसार कन्चनपुरको भिमदत्त ननगरपालिका १० का चालिस वर्षीया तारा भट्ट ,सोही ठाउँका २० वर्षीय दिपेश भट्ट, वडा नम्बर ८ का ३७ वर्षीय दिल बहादुर सुनार सामान्य, कन्चनपुर नगरपालिका ३ का २३ वर्षीय समिदेवल राना, वडा नम्बर ७ का ३४ वर्षीय धरम खड्का, वडा नम्बर ९ का २५ वर्षीय भिमसेन सार्की ,भिमदत्त नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय विनोद सार्की सामान्य घाइते भएका छन् ।
कैलालीको चिसापानी नगरपालिका ३ की २३ वर्षीया हरिकला थापा,सोही ठाउँका १९ वर्षीय कैलाश वि.क , २७ वर्षीय कृष्ण विक , ३५ वर्षीया जयन्ती बि.क.,गोदावरी नगरपालिका बस्ने ३७ वर्षीय शेर बहादुर विष्ट सामान्य घाइते छन् । त्यस्तै बझाङको बित्थडचिर गाउँपालिका ४ का २२ वर्षीय बसन्त बोहोरा, दार्चुलाको महाकाली नगरपालिका ६ का २३ वर्षीय लक्ष्मण बम, बैतडीको दशरथचन्द नगरपालिका २ का ३७ वर्षीय जनक विजाली , डडेलधुराको गन्यापधुरा गाउँपालिका ३ का ३३ वर्षीय देवबहादुर भुल र चितवनको भरतपुर महानगरपालिका ५ का २५ वर्षीय विपिन न्यौपाने मध्यम छन् ।
बस अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिएका छन् । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।