राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १४ माघ, २०८०
काठमाडौं । गत माघ ११ गते सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । आज आइतबार राष्ट्रपति भवन गएर निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन बुझाएका हुन् ।
राष्ट्रपति पौडेलले आयोगको निर्वाचन प्रतिवेदन ग्रहण गर्दै संवैधानिक व्यवस्था बमोजिम निर्वाचन समयमा नै सफलताका साथ सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिवेदन पेश गर्दै आगामी २०८० फाल्गुन २० गते देखि रिक्त हुने १९ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएकोमा ८ राजनीतिक दलका ५१ जना उम्मेदवारहरुबीच प्रतिस्पर्धा भई ५ राजनीतिक दलका १९ जना उम्मेदवार निर्वाचित भएको विवरण राष्ट्रपति समक्ष प्रस्तुत गरेका थ्रिए ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेस गरेको निर्वाचन आयोगका निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ।